धनगढी । जेनजी आन्दोलनको क्रममा सुदूरपश्चिमका कारागारबाट भागेका झण्डै ६ सय कैदीबन्दी अझै फरार रहेका छन् । प्रदेश प्रहरी कार्यालयका अनुसार प्रदेशभरका कारागारमा रहेका एक हजार सात सय ५४ कैदीबन्दीमध्ये २४ भदौमा भएको जेन–जी आन्दोलनको क्रममा एक हजार चार सय ५८ जना कैदीबन्दी फरार भएका थिए ।
प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) प्रकाश रानाभाटका अनुसार फरारमध्ये आठ सय ६१ जना कैदीबन्दी कारागार फर्किसकेका छन् । ‘अधिकांश कैदीबन्दी आफैँ सम्पर्कमा आएका हुन् भने कतिपयलाई प्रहरीले पक्राउ गरेको हो,’ एसएसपी रानाभाटले भने ।
रानाभाटका अनुसार अझै पाँच सय ९७ कैदीबन्दी फरार रहेका छन् । उनीहरूको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको छ भने जिल्ला कारागार र प्रहरी कार्यालयहरूले सार्वजनिक सूचना जारी गर्दै कैदीबन्दीलाई सम्पर्कमा आउन आग्रह गरेका छन् ।
एसएसपी रानाभाटका अनुसार फरार भएर फेरि फर्किएका आठ सय ६१ र २४ भदौमा नभागेका दुई सय ९६ गरी अहिले प्रदेशभरका कारागारमा एक हजार एक सय ३७ कैदीबन्दी रहेका छन् ।
२४ भदौमा भएको जेन–जीको आन्दोलनमा प्रदर्शनकारीको सहयोगमा कैलाली, कञ्चनपुर, डडेल्धुरा, बझाङ, दार्चुला र बैतडी कारागारबाट कैदीबन्दी फरार भएका थिए भने डोटीको बाल सुधारगृहबाट पनि बालबन्दी फरार भएका थिए ।
प्रतिक्रिया