राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) बीच ‘बृहत् एकतासम्बन्धी सहमति’ भएको छ । लामो समयदेखिको रस्साकस्सीपछि आज बिहान ४:१५ मा उनीहरूबीच एकताको सहमति भएको हो ।
सहमतिमा २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनसहित विभिन्न कालखण्डका जनआन्दोलनमा शहीद तथा घाइतेले गरेको बलिदानलाई प्रेरणाका रूपमा आत्मसात गर्दै समान अठोट बोकेका परिवर्तनकामी शक्तिहरूको सहकार्यमार्फत राष्ट्रसेवाको साझा लक्ष्य हासिल गर्ने प्रतिबद्धता जनाइएको छ ।
सहमतिअनुसार नवयुवाहरूले भ्रष्टाचार र कुशासनविरुद्ध सञ्चालन गरेको आन्दोलनको अपनत्व लिँदै घाइते तथा शहीद परिवारका मागहरू यथोचित रूपमा सम्बोधन गरिनेछ । साथै, गहिरा नीतिगत, संस्थागत तथा संरचनात्मक सुधारमार्फत आर्थिक–सामाजिक उन्नयन र सुसंस्कृत राजनीतिक अभ्यासको जगमा आगामी १० वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम–आय भएको राष्ट्र बनाउने मार्गचित्रको इमानदार कार्यान्वयनमा समर्पित रहने उल्लेख छ ।
बृहत् एकतापछि स्थापित हुने राजनीतिक दलको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै रहनेछ। पार्टीको झण्डा साविककै निलो पृष्ठभूमिमा सेतो गोलाकारभित्र निलो रङको घण्टी रहने र चुनाव चिह्न पनि ‘घण्टी’ नै कायम हुने सहमति भएको छ । पार्टीको केन्द्रीय कार्यालय काठमाडौं उपत्यकामा रहने जनाइएको छ ।
सहमतिअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने नै रहनेछन् भने आसन्न प्रतिनिधिसभा निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन शाह हुनेछन्।
प्रतिक्रिया