धनगढी । विगतका वर्ष झैं यस वर्ष पनि सुदूरपश्चिम प्रदेश सभाको बैठक पाँच महिनापछि बस्ने भएको छ ।
जेनजी आन्दोलनमा सभा भवन र सविचालय जलेको हुँदा यस वर्ष भदौ ५ गतेदेखि बस्न नसकेको प्रदेश सभाको बैठक बुधबार बस्ने भएको छ । भदौ ५ गतेपछि बैठक नबसेको प्रदेशसभामा भदौ २४ गते जेनजी आन्दोलनको क्रममा आगजनी भएको थियो ।
बुधबार बस्ने प्रदेश सभा बैठक सञ्चालनका लागि मुख्यमन्त्री कमलबहादुर शाहले मंगलबार प्रदेश सभामा सहभागी दलहरुसंग छलफल गरेका छन् । उनको सचिवालयका अनुसार प्रदेशसभाको बैठक सञ्चालन र कार्यसूचिको विषयमा मुख्यमन्त्री शाहले सर्वदलीय राय लिएका हुन् ।
बजेट अधिवेशन नै अन्त्य नगरी प्रदेशसभा बैठक बस्न नसकेको हुँदा महत्वपूर्ण विधेयकहरु वेटिङमा छन् । सचिवालयका अनुसार पाँच वटा विधेयक दर्ता भएर सभामा टेबल हुन बाँकी छ । सुदूरपश्चिम प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) पहिलो संशोधन विधेयक, २०८२, टीकापुर विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सुदूरपश्चिम प्रदेश जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, दलित सशक्तीकरण ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक, सुदूरपश्चिम प्रदेश बरघर र भलमन्सा प्रथा संरक्षण तथा विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, केही उद्योग तथा वनसम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक सचिवालयमा दर्ता भएको छ ।
जेनजी आन्दोलनमा जलेको प्रदेश सभा मर्मत हुन नसक्दा कानुन निर्माणका कामहरु थुप्रिएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले बताए । उनले बुधबार प्रदेश सभा बैठक सञ्चालनका लागि आज नै मर्मत तथा पुनःनिर्माण सम्पन्न गर्ने गरी काम भइरहेको बताए ।
प्रतिक्रिया