धनगढी । आर्थिक वर्ष २०८०/८१ सुदूरपश्चिम प्रदेशमा ८६.५८ प्रतिशत घरधुरीमा विद्युत सेवा पुगेको छ । नेपाल विद्युत प्राधिकरण सुदूरपश्चिम प्रादेशिक कार्यालयका अनुसार कैलाली र कञ्चनपुर जिल्लामा मात्रै विद्युतीकरणको काम लगभग पूरा भएको छ भने पहाडी जिल्लाहरुमा विद्युतीकरणको काम निकै सुस्त गतिमा भइरहेको छ ।
पाँच वर्ष पहिले नेपाल सरकारले देशका सबै घरधुरीमा विद्युत सेवा पु¥याइसक्ने लक्ष्यका साथ उज्यालो नेपाल कार्यक्रम घोषणा गरेको थियो । सुदूरपश्चिममा उक्त लक्ष्य पुरा भएन । प्राधिकरणको तथ्यांकअनुसार कैलालीमा ९९.१२, कञ्चनपुरमा ९९.९८, डडेल्धुरामा ९१.०३, बैतडीमा ५७.६, डोटीमा ८०.४५, अछाममा ६४.४६, दार्चुलामा ८९.६४, बझाङमा ६६.७४ र बाजुरामा २९.२४ प्रतिशत घरधुरीमा विद्युतीकरण भएको छ ।
आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रममा सरकारले उज्यालो नेपाल अभियान घोषणा गरेको थियो । सो समयमा कैलालीमा ९५.२७, कञ्चनपुरमा ९७.५८, डडेल्धुरामा ७९.८४, बैतडीमा ३४.३६, डोटीमा ८१.१९, अछाममा ४५.३६, दार्चुलामा ४०.५८, बझाङमा २१.५८ र बाजुरामा १३.४४ प्रतिशत घरधुरीमा विद्युतीकरण भएको थियो । आठ जिल्लामा विद्युतीकरण भए पनि डोटीमा भने घरधुरी वृद्धिको अनुपातमा विद्युतीकरण निकै कम भएकोले विद्युतीकरण प्रतिशत घटेको छ ।
राष्ट्रिय जनगणना २०७८ का अनुसार सुदूरपश्चिममा ५ लाख ७६ हजार ७७२ घरधुरी छ । ती घरधुरीमध्ये तीन लाख ४५ हजार ४६३ घरधुरीमा राष्ट्रि«य प्रसारण लाइनबाट विद्युत पुगेको प्राधिकरणले जनाएको छ । यस तथ्यांकअनुसार दुई लाख ३१ हजार परिवार राष्ट्रिय प्रसारण लाइनको पहुँच बाहिर छन् ।
राष्ट्रिय जनगणना २०७८ का अनुसार सुदूरपश्चिममा चार लाख ६८ हजार ८०५ परिवारले विद्युत सेवाको पहुँच पुगेको छ । ९४ हजार ६ परिवारले सोलार, एक हजार ६४६ परिवारले मट्टितेल, २१० परिवारले बायोग्याँस र १२ हजार १०५ परिवारले अन्य स्रोतबाट उज्यालो उपभोग गर्ने गरेका छन् । तथ्यांकअनुसार एक लाख २३ हजार ३४२ परिवारले स्थानीय लघु जलविद्युत आयोजनाबाट विद्युत प्रयोग गर्दै आएका छन् ।
नेपाल विद्युत प्राधिकरण सुदूरपश्चिम प्रादेशिक कार्यालयले प्रादेशिक कार्यालय र मातहतका वितरण केन्द्रमार्फत् भएको विद्युतीकरणबाट ८६.५८ प्रतिशत घरधुरीमा विद्युत सेवा पुगेको जानकारी दिएको छ । प्राधिकरणको केन्द्रीय कार्यालयले आयोजनामार्फत् पनि सुदूरपश्चिममा विद्युतीकरण गरिरहेको प्राधिकरणको प्रादेशिक कार्यालयका निर्देशक जंगबहादुर चन्दले बताए । आयोजनामार्फत् दाचुला, बैतडी, बझाङ, बाजुरा र अछाम जिल्लामा विद्युतीकरण भइरहेको उनले बताए ।
‘हामीले विद्युतीकरणका लागि प्रदेशका प्रत्येक जिल्लामा गर्नुपर्ने काम र लागत स्टिमेट गरी पठाएको थियौं,’ निर्देशक चन्दले भने, ‘एक जिल्लामा विद्युत विस्तार गर्न झण्डै एक अर्ब खर्च लाग्ने अनुमान छ ।’ उज्यालो नेपाल कार्यक्रमअन्र्तगत निर्धारित मितिमा विस्तारको काम सक्न धेरै रकम लाग्ने भएपछि प्राधिकरणले ऋण लिने निर्णय गरेको थियो । विश्व बैंकले दिएको ऋण अनुदानबाट प्राधिकरणले परियोजना स्थापना गरी कार्यान्वयन गरिरहेको छ ।
पहिलो चरणमा डोटी, अछाम, डडेल्धुरा र बैतडीमा काम भइरहको छ । यहाँ आउने आर्थिक वर्षमा सम्पन्न हुन सक्ने बताइएको छ । दोस्रो चरणमा दार्चुला, बझाङ र बाजुरामा टेण्डर भएर काम भइरहेको छ । प्राधिकरणका अनुसार बझाङको एउटा प्याकेजमा टेण्डर डिफल्ट भएको कारण पुनः टेण्डर गर्नुपर्ने भएको छ । यो काम केन्द्रीय कार्यालयले गरिरहेकोले प्रादेशिक कार्यालयले डिलेट दिन सक्ने अवस्था छैन । कैलाली– कञ्चनपुरमा विद्युतिकरणको काम लगभग सकिएको छ ।
प्राधिकरणले सुदूरपश्चिममा ३३ केभी प्रसारण लाइन ७८१, ११ केभी प्रसारण लाइन चार हजार ५४३, ४४०÷२२० भोल्ट प्रसारण लाइन १५ हजार ७४० किलोमिटर विस्तार गरेको जनाएको छ । त्यसैगरी ३३ र ११ केभिको सवस्टेशन २५ वटा निर्माण भइसकेका छन् भने ती सव स्टेशनको क्षमता २२० एमभिए छ । सुदूरपश्चिममा तीन लाख ७२ हजार ५१२ ग्राहक रहेको प्राधिकरणले जनाएको छ । जसमध्ये ग्राहस्थ ग्राहक संख्या तीन लाख ४५ हजार ४६३ छन् ।
गैरग्राहस्थ १००, कमर्सियल २ हजार २४९, नन कमर्सियल ४ हजार २०, औद्योगिक ३ हजार ५७४, स्ट्रीट लाइट १२०, सिंचाई १५ हजार ३६८, वाटर सप्लाई १९७, धार्मिक ७६१, आन्तरिक खपत ६४, अस्थायी ८२, ट्रान्सपोर्टेशन १७, मनोरञ्जन १, सामुदायिक ४९६ ग्राहक रहेका छन् । जसबाट वार्षिक ३७ करोड ५९ लाख ११ हजार ११ युनिट विद्युत खपट हुने गरेको प्राधिकरणले जनाएको छ । सुदूरपश्चिममा १० वटा ठूला जलविद्युत आयोजनाबाट १७५ मेगावटा विद्युत उत्पादन हुने गरेको छ ।
प्रतिक्रिया