ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

‘भर्जिन ल्याण्ड’ सुदूरपश्चिममा कहिले फस्टाउला पर्यटन ?

मङ्गलबार १३, जेठ २०८२ १२:०४

धनगढी । सुुदूरपश्चिम पर्यटनका लागि भर्जिन र फर्टिलिटी भएको प्रदेश हो । यहाँ पर्यटनको सम्भावना बोकेका थुप्रै गन्तव्य छन् । तर, पर्यटन पूर्वाधारको अभाव, प्रचारप्रसारको कमीले गर्दा पर्यटक खासै आएका छैनन् । नेपाल राष्ट्र बैंकको आर्थिक गतविधि अध्ययन प्रतिवेदन अनुसार २०८०/८१ मा ३० हजार ९२५ जना र २०७९/८० मा २० हजार २१६ जना विदेशी पर्यटक आएका थिए । 

‘सुदूरपश्चिमलाई आकर्षक, सुरक्षित तथा गुणस्तरीय पर्यटकीय गन्तव्यको रुपमा प्रबद्र्धन गर्ने’ उद्देश्यअनुसार प्रदेश सरकारले १० वर्षीय पर्यटन गुरुयोजना पनि बनाएको छ । हालसम्म पर्यटनबाट लाभ लिन नसकेको प्रदेश सरकारले पर्यटन क्षेत्रलाई पाँच वर्षमा समृद्धिको आधारस्तम्भको रुपमा अघि बढाउने मुल उद्देश्य राखेको छ । प्रदेशको पर्यटकीय गन्तव्य लक्षित पर्यटन सर्किट लगायतका पूर्वाधार विकास गर्ने उद्देश्य पनि पञ्चवर्षीय योजनामा छ । 

तर, प्रदेश सरकारको पर्यटन क्षेत्रको बजेट गुरुयोजनाभन्दा पर सरेर विनियोजन गर्दै आएको छ । खास गरेर भारतीय पर्यटक भित्र्याउने आश बोकेको सुदूरपश्चिम प्रदेशले धार्मिक पर्यटन प्रबद्र्धनमा जोड दिएको छ । भारतीय पर्यटक आकर्षित गर्ने खालका प्रदेशका धार्मिक महत्वका मन्दिरहरुको सौन्दर्यकरण, पहुँच मार्ग निर्माण र पर्यटनस्तरका होटल तथा अतिथि गृह निर्माण गर्ने र त्यसको मार्केटिङ गर्नुपर्ने गुरुयोजना र पञ्चवर्षीय योजनाले मार्ग निर्देशन गरेको छ । 

गुरुयोजनाअनुसार प्रदेशमा पर्यटन गन्तव्यको विकास र प्रबद्र्धन गरेमा सन् २०३१/३२ सम्म सुदूरपश्चिम प्रदेशको कुल गार्हस्थ उत्पादनमा १० प्रतिशत योगदान वृद्धि गर्ने लक्ष्य राखिएको छ ।

हालसम्म कुल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान नगन्य रहेको सुदूरपश्चिममा सन् २०२५/२६ मा छ प्रतिशत पुर्‍याउने गुरुयोजनाको लक्ष्य छ । तर,  गुरुयोजनाअनुसार काम नगरिएको हुँदा पर्यटन क्षेत्रले यो लक्ष्य भेटाउन सकेको छैन ।

गुरुयोजनाले सुदूरपश्चिम प्रदेशमा ४० प्रतिशत आन्तरिक पर्यटक, २५ प्रतिशत भारतीय पर्यटक, २० प्रतिशत बाह्य मुलुकका पर्यटक र १५ प्रतिशत अन्य पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । सन् २०२५/०२६ मा ११ लाख ३० हजार र २०३१/०३२ मा २५ लाख पाँच हजार पर्यटक भित्र्याउन सकिने लक्ष्य गुरुयोजनामा राखिएको छ ।

भारतीय पर्यटकको बसाई चार दिनबाट बृद्धि गरी १० दिनसम्म र विदेशी पर्यटकको बसाई १६ देखि २२ दिन पुर्‍याउने लक्ष्य राखिएको छ । भारतीय पर्यटकको दैनिक खर्च गर्ने दर ७० देखि एक सय अमेरिकी डलर र विदेशी पर्यटकको दैनिक खर्च गर्ने दर एक सयदेखि १५० डलर पुर्‍याउने लक्ष्य गुरुयोजनाको छ ।

आर्थिक वर्ष २०७९/८० बाट २०८९/९० सम्म कार्यान्वयन गरिने गुरुयोजनाले खप्तड राष्ट्रिय निकुञ्ज हुँदै अपि हिमाल ट्रेकिङ रुट विकास गर्न, बझाङमा सुर्मा साइपाल ट्रेकिङ रुट विकास गर्न, अछाममा बैद्यनाथ र रामारोशन पर्यटन गन्तव्य विकास गर्न , बाजुरामा बडीमालिका धार्मिक पर्यटन पदमार्ग विकास गर्न, कैलालीमा घोडाघोडी धार्मिक, सांस्कृतिक तथा पर्या पर्यटन गन्तव्य विकास गर्न, सेती नदीमा र्याफ्टिङ प्याकेज निर्माण गर्न र कञ्चनपुरमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गरी प्रबद्र्धन गर्न सुझाव दिएको छ । 

पर्यटन व्यवसायीहरुले पनि पर्यटन गुरुयोजना अनुसार नै प्रदेश सरकार र स्थानीय सरकारहरुले वार्षिक कार्यक्रम र बजेट ल्याएर काम गर्नुपर्ने बताउँछन् । प्रदेशको पर्यटन विकास र प्रबद्र्धनका लागि गुरुयोजना बनाएर काम गर्नुपर्नेमा निजी क्षेत्रले पनि जोड दिएको पर्यटन व्यवसायी तथा आन्तरिक पर्यटन पुनरुत्थान समितिका प्रदेश संयोजक मायाप्रकाश भट्टले बताए ।

‘निजी क्षेत्रले नै पर्यटन गुरुयोजना बनाएर अगाडि बढ्न प्रदेश सरकारलाई सुझाव दिएको थियो,’ भट्टले भने, ‘प्रदेश सरकारले गुरुयोजना पनि बनाएको छ । तर गुरुयोजना ल्याएको पहिलो वर्ष नै गुरुयोजना उलंघन गरेर बजेट ल्याइयो । अब बन्ने सरकारले गुरुयोजनाअनुसार नै बजेट र कार्यक्रम केन्द्रित गर्नुपर्छ । गुरुयोजनालाई स्थानीय, प्रदेश सरकार र निजी क्षेत्रले फ्लो गर्ने हो भने १० वर्षमा सुदूरपश्चिम प्रदेशमा पर्यटनबाट सरकार र निजी क्षेत्र सबैले आम्दानी गर्न सक्छन् ।’

सुदूरपश्चिम प्रदेश सरकारका पूर्वपर्यटनमन्त्री माया भट्टले बनाएमा गुरुयोजना र आवधिक योजना अनुसार नै पर्यटन विकासका योजनाहरुलाई अगाढि बढाउनुपर्नेमा जोड दिइन् । प्रदेश सरकारले पर्यटन विकास र प्रबद्र्धनको आधारशिला बनाइसकेको हुँदा त्यसैमा टेकेर सरकार अगाडि बढ्न पर्ने उनको भनाई छ ।

उनले धेरै कामहरु भइसकेको भए पनि पर्यटन पूर्वाधारहरुलाई व्यवस्थित गर्नुपर्ने, प्रचारप्रसारलाई व्यापक बनाउनुपर्ने लगायतका धेरै कामहरु बाँकी रहेको बताइन् । पूर्वमन्त्री भट्टले सुदूरपश्चिम देव भूमि भएको धार्मिक पर्यटनको बढी सम्भावना रहेको बताइन् । ‘धार्मिक पर्यटनका पूर्वाधार बढीभन्दा बढी बनाउनुपर्छ र त्यसको मार्केटिङ भारतमा गर्नुपर्ने हुन्छ,’ उनले भनिन् ।

प्रतिक्रिया