धनगढी । भारतको राजस्थानका कपिल बद्रीलालको घरबाट सुन चाँदीका गरगहना र नगद चोरीमा संलग्नता रहेको आरोपमा कैलालीको अत्तरियाका ज्ञानेन्द्र खड्कालाई कैलाली प्रहरीले २१ वैशाखमा पक्राउ गर्यो । खड्कासहितको टोली त्यतिबेला पक्राउ पर्यो, जब इलाका प्रहरी कार्यालय मालाखेती कैलालीका प्रखुम डीएसपी गंगाबहादुर थापा सरुवा भए । खड्कासंग थापासहितका प्रहरी अधिकृतको पहिलादेखि नै हिमचिम छ भन्ने सुनिदै आएको हो ।
खड्कासँगै अत्तरियाकै मिनबहादुर गुरुङ, अछामको मेल्लेख गाउँपालिकाको सेल गाउँका राजेश साउँद, गोकुल साउँद, सुरेश साउँद, धनगढीको एसके सुनचाँदी पसलका सञ्चालक सुरेश बर्मा, दिपेन्द्र सोव र रोहित सुनचाँदी पसलका सञ्चालक रोहित सिजापतीलाई पनि प्रहरीले पक्राउ गरेको थियो ।
अप्रिलमा राजस्थानका बद्रीलालको घरबाट दुई किलो सुन, २२ लाख भारतीय रुपैयाँ, १० किलो चाँदी र १० वटा घडी चोरी भएको उल्लेख गर्दै भारतीय दूतावासमार्फत नेपाल प्रहरी प्रधान कार्यालयलाई अनुरोध आएपछि अनुसन्धान सुरु गरिएको थियो ।
यता, पक्राउ परेकाबाट दुई सय ४० ग्राम सुन, १३ तोला सुनको गरगहना, २८ लाख नगद नेपाली रुपैयाँ, चार किलो नौ सय ग्राम चाँदी र चार वटा घडी फेला परेको कैलाली प्रहरीले जनाएको थियो ।
०००
०८१ मंसिर २४ गते एकजना भारतीय उच्च सुरक्षा अधिकारीले कैलाली भन्सार कार्यालयलाई एक म्यासेज पठाउँछन् ।
अग्रेजी भाषामा प्रेषित सन्देशमा भनिएको थियो– ‘पूर्वन्यायाधिशको घरबाट सुन चोर्ने तीन जनालाई त्यहाँको भन्सार कार्यालयमा पक्राउ गरिएको छ । जसरी पनि उक्त सुन फिर्ता गर्न अनुरोध गर्छु । त्यसका लागि तीन जना गौरिफन्टा नाकामा पुगिसकेका छन् ।’
भारतीय सुरक्षा संयन्त्रलाई यहाँ भइरहेका गतिविधिको तत्काल सूचना कसले प्रवाह गर्दै आएको छ भन्नेमा भन्सारका कर्मचारी अलमलमा परेका थिए ।
०००
सशस्त्र प्रहरीले ०८१ मंसिर २३ गते भजनीबाट करिब एक किलो सुनसहित तीन जनालाई भन्सार कार्यालयमा दाखिला गरेको थियो ।
तीन जनालाई छुटाउन जिल्ला प्रहरी कार्यालय नजिकै रहेका एकजना व्यापारीले गुप्त रुपमा भन्सार कार्यालयमा माेटाे रकम धरौटी बुझाए ।
तर, प्रहरीले धरौटी बुझाउने व्यक्तिका बारेमा कुनै चासो र सरोकार राखेन । स्रोतका अनुसार धरौटी बुझाउने ती व्यक्ति सुन कारोबारी हुन् । भन्सार कार्यालयले खोजी गर्न थालेपछि उनी फरार छन् ।
०००
०८१ फागुन १७ गते कैलाली भन्सार कार्यालयमा भन्सार विभागबाट समेत आएका उच्च पदस्थ अधिकारी, आन्तरिक राजश्व कार्यालय कैलालीका प्रमुख र कैलालीस्थित प्रहरी प्रमुखहरुको सम्मिलित बैठक बसेको थियो ।
उक्त बैठकमा कैलाली जिल्ला प्रहरी कार्यालयका प्रमुखले बरामद भएको सुन भन्सार कार्यालयमा (राजश्वमा) दाखिला किन गरेको भन्ने प्रश्न गर्दै त्यसो गर्नै नहुने जिकिर गरेका थिए ।
बैठकमा ती प्रहरी प्रमुखको त्यो मामला प्रहरीको भएको दाबी गर्दै बरामद गरिएको सुन वा नगद भारतीयलाई फिर्ता बुझाइदिुन पर्ने भनाई थियो ।
तर, त्यसरी बरामद गरिएको चोरीको सुन वा नगद फिर्ता पठाउनुु पर्ने कैलालीका ती प्रहरी प्रमुखको जिकिरको कानुनी आधार भने केही थिएन, छैन । भारतमा चोरी गरेर ल्याइएको नगद र जिन्सी सोझै सम्बन्धित व्यक्तिलाई फिर्ता गर्ने कानुनी व्यवस्था छैन । भन्सार विभागका अनुसार कानुनत: चोरीको रकम र सामान राजस्वमा दाखिला गर्नुपर्ने हो ।
०००
सुन चोरीको आरोपमा ०८१ चैत ८ गते धनगढीको मिलन चोकबाट प्रहरीले कैलाली गौरीगंगाका सुरज भुल र सुरेन्द्र भुललाई पक्राउ ग¥यो ।
उनीहरुले बेचको सुन किनेको आरोपमा धनगढीका मनोज घिमिरे, कञ्चनपुरका धिरेन्द्र लामिछाने र कैलालीको बर्दगोरियाका विजय सदाशंकर पनि पक्राउ परे ।
भारतबाट चोरीका घटनामा प्रहरीले अभद्र व्यवहारसम्बन्धि मुद्दा लगाउने गर्छ । उनीहरुलाई पनि त्यही मुद्दा लगाइएको थियो ।
प्रहरी हिरासतमा रहँदा प्रहरीले उनीहरुलसँग १५ लाख रुपैयाँ मोलमोलाई गरेको रहस्य खुल्यो । जब उनीहरुले आफूहरुसँग प्रहरीले मोलमोलाई गरेको कुरा सुरक्षा संयन्त्रकै उपल्लो तहमा जानकारी गराए, त्यो थाहा पाएपछि प्रहरीले उनीहरुलाई उल्टै धम्क्यायो । जिल्ला प्रशासन कार्यालयको फैसलाअनुसार ०८१ चैत्र ३१ गते उनीहरु जनही १० हजार धरौटीमा छुटेका थिए ।
प्रहरीको सुन चोरी वा नगद चोरीका घटनामा प्रष्ट मोह देखिदै आएका बेला सशस्त्र प्रहरीको टोलीले ०८१ पुस २७ गते दुई जना भारतीय नागरिकबाट साढे पाँच सय ग्राम सुन बरामद गरेको थियो ।
सुरक्षा स्रोतका अनुसार उक्त घटनामा पनि नेपाल प्रहरी तर्फका कैलालीका अधिकृतहरुले बेखुसी प्रकट गरेका थिए ।
प्रहरीको असहयोग हुन थालेपछि भन्सार कार्यालय आफैले पनि सुन समात्न थालेको थियो । ०८१ फागुनमा भन्सार कार्यालय आफैले ८७६ ग्राम सुन बरामद गरेको बताएको छ । तर त्यस घटनामा पनि प्रहरी बेखुस भएको भन्सार कार्यालयका कर्मचारीहरुले बताएका छन् ।
कैलाली प्रहरीका तत्कालीन प्रमुख पदमबहादुर बिष्टले भनेका थिए, ‘चोरी हुनु त सबैका लागि पीडादायी हुन्छ नि । हामीले पनि सकेसम्म त्यस्तो चोरीको सुन वा नगद बरामद गरेर फिर्ता गर्ने गरेका छौं ।’
०००
पछिल्ला वर्षमा सुदूरपश्चिम सुन चोरी तस्करीको ट्रान्जिट बनेको आकडाहरुले देखाउँछ । खासगरि भारतमा चोरी गरेर ल्याउने (घोल गाड्ने) कार्य निरन्तर चलिरहेको देखिन्छ । तर, यस्ता सुन र नगद चोरी तस्करीको श्रृखला कसरी चलिरहेको छ र त्यसका भित्री पाटाहरुका रहस्यको सुई प्रहरीतर्फ पनि सोझिन थालेको छ ।
अग्रलेखलाई सुरक्षा र अन्य सोतबाट प्राप्त विवरणअनुसार सुरक्षा संयन्त्रकै व्यक्तिले बिचौलिया प्रयोग गरेर सुन चोरी तस्करी गराउने गरेको पाइएको छ ।
भारतबाट सुन चोरेर ल्याएपछि यहाँका सुनचाँदी व्यवसायी, बिचौलिया र प्रहरीको संलग्नतामा व्यवस्थापन गर्ने गरिएको छ । भारतबाट नगद र सुन चोरीका लागि एउटै गिरोहले चार वटासम्म समूह परिचालन गरेको देखिन्छ ।
चोरीको योजना बनाएर लगानी गर्ने एउटा, केही समय भारतीय नागरिकको घरमा काम गरेर सोही घरमा चोरी गर्ने अर्को, चोरीमा संलग्नलाई नेपाल भित्र्याउने अर्को र चोरेको नगद तथा सामान बिक्री गर्ने अर्को गरी एकै चोरीमा चार समूह पनि संलग्न भेटिएको सुरक्षाकर्मी नै बताउँछन् । यस्ता कार्यमा कैलाली प्रहरीको अग्रसरता अझ एक स्टेप माथि रहेको पाइएको छ ।
चोरीको सुनमा प्रहरी मोह
सुरक्षा स्रोतका अनुसार भारतबाट हुने सुन वा नगद चोरीका कतिपय घटना कैलाली प्रहरी संयन्त्रको पूर्व जानकारीमै हुन्छन् । भारतबाट हुने चोरीका बहुमल्य सामानहरुलाई प्रहरीकै उपल्लो तहको आदेश भन्दै यहाँस्थित प्रहरी अधिकारीहरु भारतीयहरुलाई फिर्ता गर्ने उद्दत हुन्छन् । तर, कसैले पनि बरामद भएको परिमाणका अंकमा आफ्नो नगद वा जिन्सी सामान पाउँदैनन् ।
सोत भन्छ्, ‘प्रहरीले फिर्ता गर्ने बहानामा मन लागेजति मात्र दिए हुने भयो । किनकि उता (भारत)काले केही नपाउनुभन्दा जति पायो त्यत्तिमै चित्त बुझाउन करै लाग्छ । अर्कोतिर प्रहरीले त्यसरी बरामद भएको र फिर्ता बुझाएको अभिलेख कहिँकतै बुझाउनै पर्दैन । हाकिमहरुलाई कमाउने सबैभन्दा सजिलो धन्दा नै चोरीको सुन वा नगद भएको छ ।’
कैलाली प्रहरीकै एक पूर्वअधिकारी दिएको जानकारीअनुसार केही महिनाअघि एउटा गिरोहले भारतबाट दुई किलो सुन चारेर धनगढी ल्याएको थियो । ‘त्यो सुन बरामद गरेका थियौं,’ ती अधिकारीले भने, ‘चानचुन एक किलो जति फिर्ता बुझाएका थियौं ।’
प्रदेश प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक प्रकाश मल्ल आफूले पनि भारतबाट सुन वा नगद चोरी तस्करी गरेर ल्याउने समस्या सुदूरपश्चिमको दोस्रो ठूलो अपराध संख्यामा रहेको बुझेको बताउँछन् । ‘हामीले यो श्रृखलालाई सिरियसली लिएका छौं,’ एसएसपी मल्लले भने ।
प्रतिक्रिया