धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वकर्ता दल कांग्रेसले आफ्नो भागमा पारेको प्रदेश खेलकुद परिषद्मा बिहीबार सदस्य सचिव नियूक्त गर्यो । हक्की र फुटबलका पूर्वराष्ट्रिय खेलाडी रहेका कांग्रेस कार्यकर्ता लोकबहादुर खड्का (रवि)लाई कांग्रेसले सदस्य सचिव नियुक्त गरेको हो ।
कांग्रेस, एमाले र नागरिक उन्मुक्ति पार्टीको सयुक्त सरकारमा विभिन्न निकायमा नियुक्तिका लागि भागबण्डाको चक्कर लामै समयदेखि चलिरहेकै छ । किनकि कयौं निकायमा नियुक्तिका अवसरहरु छन् । ती निकायमध्ये खेलकुद परिषद् कांग्रेस र एमाले दुुबै दलको रोजाईमा थियो । तर कांग्रेसको रोजाई अगाडि एमालेको केही चलेन ।
कांग्रेसले आफ्नो भागमा पारिसकेपछि पनि सदस्य सचिवमा कसले चान्स पाउँछ ? भन्ने कुरा सहज अनुमानको विषय थिएन । कांग्रेस समर्थक पूर्वखेलाडीहरु धनगढीका त्रिलोक पाण्डे, रवि खड्का, प्रकाश बिष्ट, राघव कार्की र कञ्चनपुरका ज्ञानेन्द्र सिंह सदस्य सचिवको लविङमा थिए । तर अन्ततः बाजी भने खड्काले मारे ।
रवि सदस्य सचिव नियुक्त हुनुमा केही फ्याक्टरले काम गरेको थियो । कांग्रेस निकट नेता कार्यकर्ताहरुका अनुसार यसअघिका धेरैजसो नियुक्तिहरुमा दबदबा राख्दै आएका सांसद प्रकाश देउवाले राघव कार्कीलाई सदस्य सचिव बनाउन चाहेका थिए । तर आफ्नै परिवारको अभिवाक भए पनि सुदूरपश्चिममा कांग्रेसको कोटाबाट हुने जुनसूकै नियुक्तिमा हाल परराष्ट्रमन्त्रीसमेत रहेकी आरजुु राणा देउवाको स्वीकृति अनिवार्य हुने आन्तरिक अभ्यास छ ।
त्यसैमा युवा खेलाडी परिचालमा महत्व राख्ने खेलकुद परिषद्को सदस्य सचिवमा उनको चासो नहुने त कुरै भएन । सांसद प्रकाश देउवाले चाहेको व्यक्ति नियुक्त गर्न वा मुख्यमन्त्री कमलबहादुर शाहले चाहेको व्यक्ति नियुक्त हुन नेता आरजु राणा देउवाको सहमति अनिवार्य हुने नै भयो ।
त्यस क्रममा तरुण दलका केन्द्रीय सदस्य समेत रहेका र धनगढीका पार्टी गतिविधिमा प्रभाव देखाइरहेका रविका लागि गत साता नेता आरजुु राणा देउवाको धनगढी आगमन निर्णायक बन्यो । त्यही बेला उनी रबिका लागि दाहिने भइन् । मुख्यमन्त्री शाहले रविको सिफारिसमा मनखत गर्ने कुरै भएन । त्यसको राजनीतिक कारण प्रष्टै छ ।
प्रदेश सरकारले निकटका कार्यकर्ताहरुलाई नियुक्ति दिने अनेकौ निकायहरु छन् । तीमध्ये खेलकुद परिषद् पनि महत्वपूर्णमध्येको एक हो । खेलकुद परिषद् प्रदेशको खेलकुद विकासको नेतृत्वदायी सरकारी संरचना हो । अघोषित रुपमा पार्टीलाई लाभ लक्षित खेलकुदका क्रियाकलाप सिर्जना गरेर परिषद्मार्फत जोड्न खोज्ने दलकोे स्वार्थ हुने गरेको छ ।
खेलकुद परिषद्मार्फत जनसम्पर्कको अवसर, युवा खेलाडीको परिचालन, अघोषित रुपमा निकटका खेलाडीहरुलाई अवसरहरु सिर्जना गर्न सकिने र एक्सपोजर प्रदान गर्ने, लगातयका अवसरहरु परिषद्मार्फत सिर्जना गर्न सकिने ठाउँ हुने भएकोले पनि पार्टीले आफूनिकटका लागि परिषद्मा नियूक्त गर्न कसरत गरेका हुन्छन् ।
संरचनागत रुपमा पनि नौ जिल्लाका खेलकूद समितिको परिचालन तथा बजेट विनियोजन, खेलकूदका सम्पूर्ण संघहरु परिषद् नेतृत्वदायी छाताको रुपमा रहने, खेलकूदका जतिपनि पूर्वाधार निर्माणको नेतृत्व गर्ने र योजना अघि बढाउने गर्दछ । सरकारले खेलकूदका जतिपनि गतिविधि गर्छ, त्यो परिषदका माध्ययमबाट गर्छ । सरकार अनुकूल भएका बेला त सदस्य सचिवले चाहे अनुसारका कार्यक्रम र बजेट राख्ने चान्स पनि हुने गर्दछ ।
कतिपयका टिप्पणीमा परिषद्का संस्थापक सदस्य सचिव रहेका दीपक बहादुर सिंहले परिषद्लाई जुन प्रकारले चलायमान बनाए त्यसले पनि परिषद्को अहिलेको आकर्षण झन् धेरै बढाएको हो । नवनियूक्त सदस्य सचिव खड्कालाई त्यो चुनौति रहेको अनुमान गरिएको छ ।
परिषद्को समितिमा सुरक्षा निकायका प्रदेशस्तरीय कार्यालय प्रमुख समितिमा रहने व्यवस्था रहेकोले उनीहरुसँगको सम्बन्ध विस्तार तथा सहयोग समन्वयको अवसर पनि प्राप्त हुन्छ । एघारौं तहको सेवा सुविधा उपलब्ध हुने सदस्य सचिवको कार्यकाल अवधि चार वर्ष हुने व्यवस्था रहेको छ ।
प्रतिक्रिया