धनगढी । कैलालीको विभिन्न स्थानबाट लागुऔषधसहित छ जना पक्राउ परेका छन् । जिल्ला प्रहरीको विभिन्न टोलीले छुट्टाछुट्टै स्थानमा चेकजाँच र विशेष सूचनाको आधारमा खैरो हेरोइन बरामद गरेसँगै उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
जिल्लाको भजनी नगरपालिका–३ कुसमघाटमा सुदूरपश्चिम प्रदेश ०१–००९ प ३५११ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्दा लम्कीचुहा नगरपालिका–१ थकालीपुरका १९ वर्षीय रिजन मगर र २२ वर्षीय आकाश चौधरी पक्राउ परेका छन् ।
उनीहरूको साथबाट ५ ग्राम ४२० मिलिग्राम खैरो हेरोइन फेला परेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको टोलीले उक्त हेरोइन र मोटरसाइकलसहित दुवैजनालाई नियन्त्रणमा लिएको हो ।
यस्तै लम्कीचुहा नगरपालिका–६ बागमार क्षेत्रबाट पिपरकोटी बस्ने २९ वर्षीय कमल जैसी र २६ वर्षीय लक्ष्मण बोहरा १५० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका छन् । उनीहरूलाई ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।
गएराति १० बजे विशेष सूचनाका आधारमा गोदावरी नगरपालिका–५ गेटास्थित से ६ प ७५९४ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा २० वर्षीय विजय बिष्ट र २५ वर्षीय राज चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूको साथबाट ५ ग्राम ७५० मिलिग्राम खैरो हेरोइन बरामद भएको छ ।
यी दुवैलाई मोटरसाइकलसहित लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर, प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर र प्रहरी चौकी गेटाबाट संयुक्त रूपमा खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।
प्रतिक्रिया