बर्दिया । नेपाल र भारतबीच रहेको खुल्ला सिमाना केवल दुई देशका जनताहरुका लागि मात्र नभएर, दुई देशको सीमा क्षेत्रमा रहेको विभिन्न वन्यजन्तु संरक्षण निकुन्जहरुका वन्यजन्तुहरुले पनि यसको उपयोग गर्ने गर्दछन् । नेपालको तराई भूभागका जंगल क्षेत्र भारतका जंगल क्षेत्रसँग जोडिएका छन् । जसले गर्दा यहाँ वन्यजन्तुहरुको आवगमन पनि निकै हुनेगर्दछ ।
पश्चिम नेपालको बर्दिया राष्ट्रिय निकुन्ज र भारतको उत्तर प्रदेशस्थित कतर्नियाघाट वाइल्डलाइफ सेन्चुरीका जंगली हात्तीको परम्परागत बसाइ सर्ने बाटो रहेको छ ।
जहाँ हरेक वर्ष कयौं जंगली हात्तीहरु बसाईसराई गरी नेपाल र भारत आवतजावत गर्ने गर्दछन् । मानव निर्मित संरचना, बस्ती, खेती, तारबार आदिले हाल जंगली हात्तीहरुको परम्परागत बाटो मासिएको छ, जसको कारण मानिसहरुसँग उनीहरुको द्वन्द्व बढ्दो छ । खानेकुराको खोजी र वर्षाको पानीबाट बच्नका लागि यी हात्तीहरु बसाइँ सर्ने गर्छन् ।
प्रत्येक वर्ष यिनीहरुको बसाइँ सर्ने बाटोमा मानव निर्मित संरचनाहरु थपिँदै छन् । जसले गर्दा हात्ती र मानसहरुबीच द्वन्द्व बढ्दो देखिन्छ । हात्तीहरुको समूहको नाइके जहिले पनि पोथी हात्ती हुन्छ भने धेरै जसो समूहमा एउटा ठूलो भाले हात्ती हुन्छ, जसले बढीगार्डको काम गर्छ ।
एउटा हात्ती बच्चा हुँदा जुन बाटो हिँड्छ बुढो हुँदासम्म पनि त्यही बाटो हिँड्ने गर्छ र, उनीहरुलाई खाने कुरा र खनिज कहाँकहाँ पाइन्छ भनेर थाहा हुन्छ ।
हात्तीहरुलाई उनीहरुको परम्परागत बाटोबाट हिँड्न मात्र दिने हो भने पनि मानव वन्यजन्तु विचको द्वन्द र त्यसबाट हुने जनधनको क्षति न्यूनिकरण गर्न सकिन्छ । तर हाम्रो बाटोघाटो, नहर, खेती गर्ने जमिन आदि उनीहरुको बाटोमा परेको छ । हाम्रा पूर्वाधारहरु पनि वन्यजन्तु मैत्री छैनन् । जसले गर्दा द्वन्द्ध न्युनिकरणमा समस्या परेको देखिन्छ ।
दृष्टान्त विडारी/ नेपाल फोटो लाईब्रेरी



प्रतिक्रिया