ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिमका चार स्थानमा इलाका प्रशासन कार्यालय स्थापनाको तयारी, स्थानीय खुसी

आइतबार १३, पुष २०८२ १०:०३

बैतडी । सुदूरपश्चिमका चार स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गरिँदै छ । सुदूरपश्चिमको बैतडीस्थित मेलौली, बाजुराको कोल्टी, डोटीको विपिनगर र दार्चुलाको गोकुलेश्वरमा इलाका प्रशासन कार्यालय स्थापना गर्न लागिएको हो ।

मन्त्रिपरिषद् बैठकले सुदूरपश्चिमका चारसहित देशका विभिन्न नौ ठाउँमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेसँगै उक्त पहल थालिएको बैतडीको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्द जानकारी दिए । उनका अनुसार जिल्लाको तल्लोस्वराड क्षेत्रका बासिन्दाको माग र लामो प्रयासपछि मेलौलीमा इलाका प्रशासन कार्यालय स्थापना हुने भएको छ ।

मेलौलीमा इलाका प्रशासन स्थापना गर्ने सरकारको निर्णयले स्थानीय खुसी भएका छन् । इलाका प्रशासन कार्यालय स्थापना भएपछि तल्लोस्वराड क्षेत्रका बासिन्दालाई नागरिकतासहित अत्यावश्यक कामका लागि दिनभर यात्रा गरेर सदरमुकाम धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको छ ।

तल्लोस्वराड क्षेत्रका साथै मेलौली नगरपालिका, शिवनाथ र पञ्चेश्वर गाउँपालिकाका नागरिकलाई प्रशासनिक कामका लागि सहज हुने बताउँदै पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष चन्दले सरकारले गरेको यो निर्णय उत्कृष्ट रहेको धारणा राखे । उनले भने, “तल्लोस्वराडबासीका लागि मेलौलीमा इलाका प्रशासन स्थापना हुनु उत्कृष्ट कार्य हो । अब नागरिकता बनाउनका लागि हजारौँ रकम खर्च गरेर सदरमुकाम जानुपर्ने बाध्यता हट्नेछ ।”

योसँगै सरकारले ताप्लेजुङको सिरिजङ्गा, डोल्पाको धो, मुगुको खत्याड, कालिकोटको रास्कोट र सङ्खुवासभाको हिदानागढीमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने सरकारले निर्णय गरेको छ । रासस

प्रतिक्रिया