धनगढी । अत्यधिक चिसो बढ्नुका साथै बादल, हुस्सु र सितलहर पनि संगै चलेपछि तराइँको जनजीवन कष्टकर भएको छ ।
पुस महिना लागेसंगै शुरु भएको अत्यधिक चिसोसंगै लागेको बादल र हुस्सु पछिल्लो पटक लगातार चार दिनसम्म नहटेपछि चिसो झन् बढेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार धनगढी लगायतका क्षेत्रमा अधिकतम तापक्रम सरदरभन्दा निकै तल झरेकाले चिसो बढेको छ ।
मौसमविद् सरोज पुडासैनीका अनुसार सोमबार बिहान धनगढीको अधिकतम तापक्रम १४ र न्युनतम तापक्रम ९ डिग्री सेल्सियस रेकर्ड गरिएको छ । तापक्रम घटेकाले स्थानीयको दैनिकी प्रभावित भएको छ । यस्तै मौसममा आएको खराबीका कारण हवाई उडान पनि प्रभावित भएको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि देशभरका तराई भूभागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । घाम नलाग्ने र बाक्लो हुस्सु लाग्ने क्रम आगामी केही दिन जारी रहने देखिएकाले स्वास्थ्य र यात्रामा ध्यान दिन मौसमविद्को सुझाव छ ।
चिसो बढेसंगै धनगढीका १४ स्थानमा धनगढी उपमहानगरपालिकाले दाउरा बालेको छ । उपप्रमुख कन्दकला रानाका अनुसार वड नम्बर ७ को कार्यालय नजिक, पारीचोक, मनहेरा चोक, एरिस्टो बोर्डिङ स्कुल अगाडि, क्याम्पस रोड, मोतीचोक, गुरही चोक, अदालत रोड, भन्सार रोडमा रहेको बेलौरी बसपार्क, आदर्श चोक, सशस्त्र पोष्ट नजिक, मिलन चोक हाटबजार र ट्राफिक चौराहमा आगो बाल्ने व्यवस्था मिलाइएको छ ।
प्रतिक्रिया