धनगढी । त्रिनगर–गौरीफन्टा नाका भएर सर्वसाधारणले आवागमन गर्दा सात ठाउँमा चेकजाँच हुन्छ । पाँच सय मिटरको उक्त क्षेत्रमा तीन ठाउँमा सशस्त्र प्रहरी, एक ठाउँमा भन्सार कार्यालय, एक ठाउँमा नेपाल प्रहरी, एक ठाउँमा भारतीय भन्सार र एक ठाउँमा सीमा सुरक्षा बल एसएसबीले चेकजाँच गर्दै आएको छ । भारतबाट स्वदेश फर्किनेहरुलाई हुन्छ सबैभन्दा बढी सास्ती । उनीहरुका बारम्बार झोलीझिम्टा खोलिन्छन् । कहिले त घरायसी प्रयोगको सामान भए पनि बरामद हुन्छ ।
तर, सोही नाका भएर भन्सार छलीको सामानसहित धनगढी बजारमै गाडी पुग्ने गरेका छन् । बुधबार त्रिनगर नाका भएर नै भन्सार छलीको सामानसहित एउटा भारतीय गाडी धनगढीको सहिद गेटसम्म पुगेको थियो । यूपी २५ एफटी ०९३८ नम्बरको जीपमा अङ्गुर, अनार र अम्बा थियो । सहिद गेट पुगेको गाडीलाई सशस्त्र प्रहरी र भन्सारका कर्मचारीको टिमले भारतीय नागरिक दीपक तिवारीसहित नियन्त्रणमा लिएको छ । भन्सार कार्यालय कैलालीका अनुसार उक्त सामान र गाडीको बिगो १५ लाख १९ हजार कायम गरिएको छ ।
‘मोहना पुलको सुरुवाती बिन्दुमा रहेको भन्सारका कर्मचारी र सशस्त्र प्रहरीको टिमले भन्सार बुझाउनका लागि सामान ल्याउने व्यक्तिलाई कार्यालयमा पठाउने गरेका छन्,’ भन्सार कार्यालय कैलालीका सूचना अधिकारी खिमप्रसाद अर्यालले भने, ‘भन्सार छली भएपछि त रोक्ने जिम्मेवारीसहित सशस्त्र प्रहरीको अगाडि अर्को पोस्ट राखिएको छ ।’
त्रिनगर नाकामा भन्सार छलीका सामानको आयात रोक्ने जिम्मेवारीसहित सशस्त्र प्रहरीको मोहना पुलवारि (भन्सार कार्यालय सकिएपछि धनगढीतर्फ) पोस्ट छ । ‘भन्सार सुरक्षाको काम गर्ने मुख्य जिम्मेवारी नै पुलवारिको पोष्टको हो,’ सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वार्टर कैलालीका सशस्त्र प्रहरी उपरीक्षक दलबहादुर पाण्डेय भन्छन्, ‘सोही पोष्टले भन्सार छलीका सामानको आयात रोक्ने हो । त्यो भारतीय गाडी भने रोक्दारोक्दै भागेपछि सहित गेट पुगे पुगेर नियन्त्रणमा लिइएको हो ।’
उनका अनुसार सशस्त्रले त्रिनगर भन्सारको पुलपारि अर्थात् सीमा प्रारम्भ भएको स्थानमा, मोहना पुलमा र पुलवारि गरी तीन ठाउँमा पोस्ट राखेको छ । ‘पहिलो पोस्ट सीमा सुरक्षाको लागि हो । त्यहाँ प्रतिबन्ध लगाइएका बस्तुको आयात रोक्न चेकजाँच हुन्छ,’ उनले भने, ‘मोहना पुलमा रहेको टोलीले भन्सारकर्मीलाई सघाउने काम गर्दै आएको छ । पुलवारिको पोस्टले भने भन्सार छलीलाई रोक्छ ।’
तर, ठाउँठाउँमा चेक पोस्ट भए पनि भन्सार छलीको सामान भने पटकपटक धनगढी पुग्ने गरेको छ । भन्सार छलीको सामान आयातमा सशस्त्र प्रहरी र भन्सारका कर्मचारीको मिलोमतो हुने गरेको आरोप पनि लाग्दै आएको छ । सोही पुष्टि भएपछि केही समयअघि कैलालीमै तीन सशस्त्र प्रहरी कारबाहीमा परेका थिए ।
प्रतिक्रिया